Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन गृहमन्त्री रवि लामिछानेको निर्देशन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् ।

कालिकास्थानस्थित अध्यागमन विभागमा पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न उनले निर्देशन दिएका हुन् ।

कर्मचारीवृत्तमा केही खराब मान्छेका कारण इमान्दारले दोष पाउने गरेको उनले बताए । ‘केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन्। खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ’, उनले अगाडि भने।

गृहमन्त्रीले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनु आवश्यक रहेको समेत बताए । ‘अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्छ’, उनले भने, ‘जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती छन्। तर, प्रयास जारी राख्नुपर्छ।’