Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

महराको रिहाइबारे गृहमन्त्री लामिछानेको स्पष्टीकरणः राज्यको पनि करूणा हुन्छ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको प्रष्ट पारेका छन् । आज ९शनिबार० काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले महरालाई छाडिएको विषयलाई अतिरञ्जित गर्न नहुने बताएका छन् ।

महरा सुन तस्करी प्रकरणमा भैरहवाबाट पक्राउ परेका थिए । महराले दैनिक ८–१० वटा औषधि सेवन गरिरहेको बताउँदै गृहमन्त्री लामिछानेले भने, ‘अदालतले पनि बिरामी हुनु भएको बताएको छ । राज्य निर्मम हुन सक्छ तर करुणा भएन भने त्यो अन्याय हुन जान्छ ।’

अवस्था हेरेर मानवीय संवेदना र करुणाको प्रयोग हुनुपर्ने उनले बताए । सुन तस्करी प्रकरणमा दोषी जोसुकै भए पनि नछाड्ने उनले दाबी गरेका छन् । महरालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले अनुमति मागेकामा जिल्ला अदालत काठमाडौंले चार दिन मात्र समय दिएको थियो । त्यो पनि उनको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालमा बस्न दिन भनेको थियो । अदालतले दिएको चार दिनको समय सकिएपछि महरा शुक्रबार हाजिरी जमानीमा छुटेका छन् ।