Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुन तस्करी प्रकरण:

कृष्णबहादुर महराको बयान सकियो, हाजिर जमानीमा छाडिँदै!

सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएका छन् ।

बुधबार र  बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार आज कार्यालय खुलेपछि हाजिर जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय हुनेछ। यद्यपि उनको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी भएको उनको भनाइ छ। 

उनलाई बयानपछि नर्भिक अस्पतालमै भर्ना गरिएको छ। बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने क्रम दुई दिन जारी रह्यो। बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ। 

स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न  लागिएको हो। गत चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको थियो।   उनलाई चैत ५ मै काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा भर्ना भएका थिए। 

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको थियो।  सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले घटनामा संलग्न रहेको भन्दै महराविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही सिफारिसपछि उनलाई सिआइबीले पक्राउ गरेको हो।