सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । सोमबार कपिलबस्तुबाट पक्राउ परेका महराको बयान बिहीबार सकिएको हो ।
बुधबार र आज बिहीबार दुई दिनमा महरालाई बयानपछि आजै नर्भिक अस्पतालमा ल्याएर भर्ना गरिएको छ। बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुन: भर्ना गर्ने क्रम दुई दिन जारी रहयो। एक अधिकृतका अनुसार बयानका क्रममा उनी निक्कै मलिन देखिएका थिए। विभिन्न प्रकारका औषधि खाइरहेकाले उनलाई समातेर लैजानुपर्ने अवस्था देखिएको बताइएको छ।
यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको थियो। उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ।
दुई दिन जिल्ला सरकारी वलिक कार्यालयमा गरेको बयानमा उनले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिल कार्यालयमा बयान लिएको हो । कार्यालय स्रोतका अनुसार उनले बयानमा आफूमाथि राजनीति भएको बताएका छन् ।
उनलाई चैत ५ मै काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा राखिएको छ। आज थपिएको म्याद सकिने भए पनि शुक्रबार मात्रै आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीले जनाएको छ।
उनले बयानमा भनेका छन्, “म नेता हो विभिन्न मान्छेसँग मेरो फोन सम्पर्क हुन्छ । त्यही शिलशिलामा चिनियाँहरूसँग पनि भएको हो । उनीहरूले सुन तस्कर गर्छ भन्ने मलाई कुनै पूर्वजानकारी छैन ।” ०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप)मार्फत नौ किलो सुन ल्याएका थिए । सोही प्रकरणमा महराको कनेक्सन देखिएपछि उनी पक्राउ परेका हुन् । सोही प्रकरणमा गत भदौमा पक्राउ परेका उनका छोरा राहुल भने पुर्पक्षका निम्ति थुनामा छन् ।
पूर्वसभामुख समेत रहेका महरा भने सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेपछि पक्राउ परेका हुन् । बयान सकिएसँगै अदालत पठाउने सीआईबीको तयारी छ ।
गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ। मुख्यगरी भेपभित्र राखेर ल्याइएको सुन छुटाउन उनले पहल गरेका थिए। उनले आफूले असल नियतले मात्रै पहल गरेको यसअघि सार्वजनिक कार्यक्रममै बताएका थिए।
त्यसबेला सिआइबीले उनलाई बयान कागज गराएर मात्रै छाडेको थियो। बयान कागज गरेर छाड्नुलाई सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सिआइबीको त्रुटी औँल्याएको छ। सोही कारण सुन प्रकरणको अनुसन्धानमा सक्रिय सिआइबी प्रमुख किरण बज्राचार्यसहित अन्य तीन अधिकृतलाई त्यहाँबाट हटाइएको छ।
सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्। सिआइबीले सुन प्रकरणमा पुरक निवेदन सरकारी वकिल समक्ष बुझाउने तयारी गरेको छ।