प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा गृहमन्त्रीका विषयमा बोलेका कुरामा कुनै सत्यता नभएको बताएका छन् ।
गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागि प्रधानमन्त्रीले झुटो कुरा सदनमा गरेको नेता कोइरालाले बताएका छन् । नेपाली कांग्रेसका स्व.नेता गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।
‘कांग्रेसलाई दोष दिएर माओवादीले बनाएको यो नयाँ गठबन्धनले कुन धारमा टेकेर के के गर्छ त्यो हेर्दै जाँउ न, केही समयमा यो आफै नाङ्गिने छ’ नेता कोइरालाले भने । राजनीतिमा नैतिकताको खडेरी परेको भन्दै उनले गृहमन्त्री लामिछानेले राजीनामा दिनु पर्नेमा जोड दिए । विवादमा तानिएपछि यसअघि धेरै नेताहरुले पद त्यागेको स्मरण गर्दै उनले गृहमन्त्रीबाट राजीनामा दिएर सहकारी घोटालाको अनुसन्धानलाई सघाउनु पर्ने बताए ।
नेता कोइरालाले कृष्णबहादुर महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषीलाई धरौटीमा छाडिनु रहस्यमय रहेको पनि बताए । नेता कोइरालाले प्रधानमन्त्री दाहालले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाएको आरोप पनि लगाए । सत्ताको मोलमोलाइले टिआरसी नटुङ्गिने भन्दै उनले पीडितलाई नजरअन्दाज गर्न नसकिने र अन्तर्राष्ट्रिय समुदायले उठाएका सवालको पनि सम्बोधन गरिनु पर्नेमा जोड दिए ।