सत्तारुढ नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छोडेको घोषणा गरेका छन् । संविधान सभा सदस्य समेत रहेका शर्माले बिहीबार पार्टी परित्याग गरेको घोषणा सामाजिक सञ्जालबाट गरेका हुन् ।
पहिले माओवादीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको काममा आकाश पतालको फरक पाएको गुनासो गर्दै माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएकोले पार्टी त्यागेको उनले बताएका छन् ।
‘महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महसुस गरेको छु’, शर्माले फेसबुकमार्फत भनेका छन् ।
साथै द्वन्द्वकालमा माओवादीले उठाएको मुद्दाबाट माओवादी च्यूत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटैगुटका महासंघमा रुपान्तरण भएकाले पार्टी छाड्नु परेको निष्कर्ष शर्माले निकालेका छन् । १७ हजार नागरिकको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम शीर्ष नेताबाट भएको, प्रधानमन्त्रीको भाषणमा सुशासन भए पनि उनले नेतृत्व गरेको पार्टीका नेताहरु भ्रष्टाचारको काण्डै काण्डमा मुछिएको भन्दै शर्माले पार्टी त्योगेका जनाएका छन् । उनले जनादेश विपरित विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि माओवादीले पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरतातिर धकेलेर देशलाई विदेशीको क्रिडास्थल बनाएको आरोप पनि लगाएका छन् ।