Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

महरासँग आज पनि बयान लिइँदै, आजै पुनः म्याद थप गरिंदै

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । निजलाई सीआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

गत साउन २ मा ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनीको नाम जोडिएको छ । त्यसबेला सीआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।