प्रतिनिधिसभा बैठक भर्खरै सुरू भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जनाएको छ । बैठक सुरू हुने वित्तिकै कांग्रेस सांसदहरू आ–आफ्नो सिटबाट उठेर अवरोध जनाएका छन् । अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेलाई बोल्न समय दिएका छन् । उनले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि आफ्नो पार्टीले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आपत्ती जनाइन् ।
सांसद न्यौपानेले गृहमन्त्रीमाथि अनुसन्धान गर्न अर्को बैठकसम्म संसदीय समिति गठन गर्नुपर्ने माग गरिन् । उनले भने, ‘गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले संसदीय समिति बनाउन मानेन भने यो सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझिनेछ ।’ एउटै मुद्दाका दिपेश पुन पक्राउ पर्ने र लामिछाने कसरी गृहमन्त्री बने? भन्दै प्रश्न समेत गरिन् । सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन नथालेसम्म संसद् चल्न नसक्ने उल्लेख गरिन् ।
उनले भनिन्, ‘कसरी चल्छ सत्ता? गृहमन्त्रीले बाहिर बोल्नु भएको छ । प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ? त्यो कदापि हुन सक्दैन । सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैरजिम्मेवार पूर्ण भनाइ राख्नुभयो । त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ । बजेटको छलफलको विषयमा हामी तयार छौँ । अवरोध गर्दैनौँ । छानबिन समिति गठन गर्न किन डराउनु प¥यो? हिजो यदि हाउसमा समिति गठन गरेको होइन । उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने? के उहाँ स्वर्गबाट आएको हो? हामी सबै यदि जन्मेका हौं । झन् शंका उब्जेको छ ।’
सहकारी ठगीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने स्वयं अनुसन्धानको दायरामा रहेकोमा उनीमाथि अनुसन्धान गर्न छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान छ । यसअघि कांग्रेसको उठाएको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संसद बैठकमा जवाफ दिए पनि कांग्रेसले चित्त बुझाएको छैन । प्रधानमन्त्री प्रचण्डले सहकारीमा गृहमन्त्री लामिछानेको कुनै संलग्न नरहेको भन्दै उनको बचाउ गरेको उनको भनाइ छ । सांसद न्यौपानेले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग प्रशस्त प्रमाण रहेको दावी गरिन् ।