Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सर्वोत्तम सिमेन्टको सेयर सूचीकृत

सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीलाई ‘एसएआरबीटीएम’ सिम्बोल प्रदान गरेको छ । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा १२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७.०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको सेयर सूचीकृत भएको हो ।

सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आईपीओ जारी भएको थियो । यस कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्म निर्धारण भएको छ । नेप्सेले नयाँ कम्पनीको सेयर सूचीकरण हुँदा प्रतिसेयर नेटवर्थलाई न्यूनतम मूल्य र त्यसको ३ गुणासम्मलाई अधिकतम मूल्य कायम गर्दै ओपनिङ रेञ्ज तय गर्दछ ।

मंगलबारदेखि कम्पनीको सेयर कारोबारमा आउने छ । मंगलबार यस कम्पनीको पहिलो कारोबार १८५ रुपैयाँ ४० पैसादेखि ५५६ रुपैयाँको बीचमा हुनेछ । जुन मूल्यमा पहिलो कारोबार हुन्छ, सोही मूल्यबाट एक दिनमा १० प्रतिशतसम्म घटबढ हुन सक्नेछ । कम्पनीको पहिलो कारोबार ५५६ रुपैयाँमा भएमा मंगलबार ६११ रुपैयाँ ६० पैसासम्म पुग्न सक्नेछ । गत शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भएको थियो । जसअनुसार कुल ५५ हजार ५२१ जना आवेदकले ५० वा ५१ कित्ता सेयर पाएका छन् ।