Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

पक्राउ परेका कृष्ण महरा नर्भिक अस्पताल भर्ना

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

जिल्ला अदालत काठमाडौंको आदेशपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई थापाथलीस्थित नर्भिकमा भर्ना गरिएको हो ।
सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको थियो । साथै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो । कपिलवस्तुबाट पक्राउ गरेर जहाजमा भैरहवा हुँदै काठमाडौं ल्याएर सीआईबीको हिरासतमा राखिएको छ ।उनलाई भेपमा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।