Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मन्त्री पदको शपथ लिएपछि दीपक मनाङेले भने - अब रियल पोलिटिक्समा आउँदैछु

गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् । सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पुर्‍याउने गरी तयारी गरिरहेको छ । त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् ।

सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एक वर्षसम्म आफू आराम गरेर बसेको र अबको चार वर्ष राजनीति गर्ने बताए । ‘एक वर्षसम्म म यसो फुटबल सुटबल खेलेर हिँडिरहेको थिएँ, रेस्टजस्तो । हिजो चाहिँ मलाई के जोश आयो भने यो ४ वर्ष मैले पनि राजनीति गर्नुपर्छ’, उनले भने ।

यसअघि आफूले सामाजिक काम गरेको भन्दै मनाङेले थपे, ‘अब रियल पोलिटिक्समा आउँदैछु।’ केन्द्रमा जे समस्या आएर गठबन्धन फेरिए पनि त्यसको असर प्रदेशमा पर्न नहुने उनले बताए । चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत प्राप्त गरेर सरकार बनाउन ३१ जना सांसदहरू आवश्यक हुन्छन्। अहिले गण्डकीमा काँग्रेसका २७ जना, एमालेका २२, माओवादी केन्द्रका ७ जना सभामुखबाहेक, राप्रपाका २ जना र एकजना दीपक मनाङे छन्।