प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताएका छन् । आज सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने बताएका हुन् । उनले भने ‘ती लाखौँलाख सहकारी पीडतहरुलाई न्याय दिलाउन नसक्ने हो भने हामी यो सरकारमा बस्नुको कुनै औचित्य रहँदैन । बालेन र हर्कहरूले पनि हामीलाई गिज्याइरहेका छन् । हामी सत्तामा छौँ । सरकारमा छौँ ।’
उनले सहकारी पीडितहरूले आफूहरूले न्याय कहिले पाउँछौँ भनेर सोधिरहेको उल्लेख गर्दै उनीहरूलाई न्याय दिलाउन नसक्दा बालेन साह र हर्क साम्पाङहरुले समेत गिज्याइरहेका बताए । उनले हरेक घटनाका पीडितहरूले काठमाडौं आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै सम्बन्धित ठाउँमा नै समस्याको समाधान गर्नसक्ने अवस्था बन्नुपर्ने बताए ।
उनले भने ‘हरेक घटनाहरू हुन्छन् र हरेक घटनापछि आम जनताहरू सडकबाट पैदल यात्रा गरेर काठमाडौं सहरमा आएर आन्दोलन गर्नुपर्ने अवस्था हामीले कहिलेसम्म गर्ने हो रु जतिसुकै घटनाहरू घट्छन्, ठाउँमा नै समस्याको समाधान दिन सकेनौँ भने संसद र सरकारको कुनै औचित्य रहँदैन ।’ उनले सुन तस्करी प्रकरणमा दोषी जो भएपनि कारबाही गर्नुपर्ने बताए ।
भने, ‘सुन प्रकरणमा आयोगको प्रतिवेदनबाट, छानबिनबाट जोसुकै दोषी हुन्, ती दोषीले कारबाही भोग्नुपर्छ । चाहे ठूलो माछा होस् । चाहे सानो माछा । कारबाही गर्नेकुरा सरकारको कुरा हो । दोषीहरू कोही नछुटुन् । हिजोअस्ति मात्रै जीवन चलाउने नाम गरेका व्यक्तिले दिल्लीबाट एउटा सनसनीपूर्ण भिडियो र अडियो रेकर्ड सार्वजनिक भएको छ । यदि जीवन चलाउनेले भनेको कुरा सत्य हो भने हामीले त्यसबारेमा छानबिन गर्नुपर्छ कि पर्दैन? जीवन चलाउनेले भनेको यदि सत्य हो भने सीआइबिकै पदाधिकारीहरूले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे? आइजिपी बनाउँदाखेरि मलाई एक करोड पैसा चाहिन्छ भनेर एउटा व्यापारीसँग मोलाहिजा गर्ने काम कसरी हुँदैछ? यदि यसरी नै सिआइबिबाट अथवा अन्य अनुसन्धान गर्ने निकायबाट यसरी फरार अभियुक्तबाट दिन दहाडै होटल रेस्टुरेण्टमा बसेर मोलमोलाइ गर्न थाले जनताले न्याय पाउने अवस्था रहँदैन । जीवन चलाउनेको भिडियो आएपछि हामी सशङ्कित छौँ ।’