वीरगञ्जमा केही दिनदेखि सबै रोगको उपचार गर्ने दाबी गर्दै आएका भारतीय काली कम्बलवाले बाबा गणेश भाइ गुर्जर सम्पर्कविहीन भएको विषयलाई लिएर तनाव उत्पन भएको छ ।
वीरगञ्जको चिनिमिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न आएका काली कम्बलवाले बाबाको विषयलाई लिएर चिनी मिल क्षेत्रमा प्रहरी र सर्वसाधारण जनताबीच तनाव भएको हो । चैत १० गतेसम्म शिविर चलाउने भनिए पनि उनी अचानक सम्पर्कविहीन बनेका हुन् । उनी बेपत्ता बनेपछि शिविरमा उपचार गराउन आएकाहरूले लफडा गरेका छन् ।
अपाहिज, लकवा, पोलियो, लुडो, लंगडोलाई निःशुल्कमा उपचार गर्दै आएका कम्बल बाबालाई पर्सा प्रहरीले पक्राउ गरेको सूचना बाहिरिएसँगै स्थिति तनावग्रस्त बनेको बताइएको छ । बाबा भारत फर्केको धेरैको अनुमान भएपनि प्रहरीले सूचना नभएको बताएको छ । भारत राजस्थानका ती बाबाले चिकित्सा विज्ञानलाई चुनौती दिँदै क्यान्सरलगायतका प्राणघातक रोग पनि निको पारेको दाबी गर्दै आएका छन् ।