Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

गगन थापाको प्रश्न - आरोपित गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् ? (भिडियो)

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी ‘ठग’को आरोपित नै गृह मन्त्रालयमा रहँदा पीडितले कसरी न्याय पाउँछन् भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा जवाफ दिनुपर्ने बताए ।

गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको हो । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए ।

‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने ।’ उनले भने, ‘तर अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने ?’ 

“पोखरा महानगरपालिकाको प्रतिवेदनले नै भन्छ– कसैको धितो छैन, तर पनि एक अर्ब झ्वाम ! यसरी छोड्ने भए यसरी सबैलाई छोड्नुपर्छ,” उनले भने, “धेरै लगानी गोरखा मिडिया नेटवर्कमा भएको छ । सहकारीमा जसले ठगी गरेको छ, मेरो मित्र रवि लामिछाने गृहमन्त्री हुुनुहुन्छ । भोलि प्रधानमन्त्री पनि बन्नुहोला, शुभकामना । तर, अध्ययन फियर होस् । प्रमाण नस्ट नहोस् । अहिले प्रमाण प्रहरीहरूसँग छ । जो मुछिएको छ, उसले आफैँले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने ?”

प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा उनले जोड दिए । “यो संसद्, हामीलाई जवाफ चाहिएको छ । प्रधानमन्त्रीको जवाफ चाहिएको छ, रोस्ट्रममा हामीलाई चाहिएको छ,” उनले भने । सुन तस्करीकाण्डमा संसदीय समिति बनाउने भनेर तत्कालीन प्रतिपक्षी नेकपा (एमाले)ले राम्रो काम गरेको उनले उल्लेख गरे । एमालेले त्यति बेला लगाएको आरोप शक्तिशाली नेतालाई लुकाउने प्रपञ्चको विषय प्रमाणित भएको उनले जिकिर गरे ।

कृष्णबहादुर महरालाई प्रहरीले प्रकाउ गरेको विषयमा उनले सरकारलाई धन्यवाद पनि दिए । उनले सहकारीकाण्ड फासफुस नहोस् भनी माग गरे । 

भिडियो:

https://youtu.be/l0Sug_ZR2zw