Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

टेलिकमका अधिकृत सिटौलाविरुद्ध डेढ करोड बढी भ्रष्टाचार अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाले अनुमति वेगर अरु व्यवसाय गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिटौलाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१ (३) र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय संचालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधान विपरीत काम गरी आय आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिटौलाले Himdung & Thokar Construction Company लिमिटेडको संस्थापक शेयर खरिद गरी ठेक्कापट्टमा संलग्न रहेको र त्यसबाट आय आर्जन गरेको पाइएको बताए ।

उक्त कम्पनीले ठेक्का पाएको Suryabinayak–Dhulikhel–Sindhuli–Bardibas Road Project मा सिटौलाले प्रतिनिधिको रुपमा हस्ताक्षर गरी भ्रष्टाचार जन्य काम गरेको अभियोग पत्रमा उल्लेख छ । आयोगले सिटौलाले कम्पनीबाट मासिक ४५,१७,५०० पारिश्रमिक लिएको छ र कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ सहित एक करोड ६१ लाख २० हजार बिगो कायम गरेको छ ।