Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

यी हुन् रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली हान्ने तीन जना

रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हिजो ९शुक्रबार० दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो ।

घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिएकी छन् । पक्राउ पर्नेमा भारतीय नागरिक १९ वर्षका मुनिफकुमार यादव, १८ वर्षका राजकुमार पासवान र २० वर्षका चन्द्रभान सिंह रहेका छन् । उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ । गोली प्रहारबाट घाइते भएका नितेशको बारापको परबानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार गरिएको थियो । आँखामा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी गिरीले जानकारी दिइन् ।