Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय पक्राउ

रौतहटमा मनि ट्रान्सफर लुट्ने क्रममा गोली चलेको छ । परोहा नगरपालिका-२ मा रहेको शिव मनि ट्रान्सफरमा भारतको बिहारबाट आएका तीन जनाले लुटपाट गर्न खोज्ने क्रममा गोली चलाएका हुन् । गोली लागेर मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका छन् ।

साहको रौतहट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ। भारतीय नम्बरको अपाचे मोटरसाइकल चढेर तीन जनाको समूहमा आएका भारतीय लुटेरा समूहले सञ्चालक साहमाथि गोली प्रहार गरी लुटपाट गर्न सुरु गरेका थिए । लुटेरा समूहले चलाएको गोली साहको कञ्चटमा लागेको छ ।

लुटपाटमा संलग्न भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिहलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको एसपी श्रेष्ठले बताए । घटनास्थलमा नेपाल प्रहरीका एसपी महेन्द्र श्रेष्ठ र सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुमागाईसहितका टोली खटिएको छ । नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ । घटनास्थल सीमा क्षेत्रबाट करिब तीन सय मिटर उत्तर क्षेत्र पर्दछ ।