Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुन तस्करी प्रकरणः आयोगले कारबाही सिफारिस गरेका १२ जना को–को हुन्?

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा प्रत्यक्ष संलग्नहरुलाई नै जोगाउने काम भएको निष्कर्ष निकालेको छ । आयोगले सुन तस्करीसम्बन्धी अनुसन्धानमा पदको दुरुपयोग गर्दै गम्भिर त्रुटी गरिएको समेत ठहर गरेको छ । सुन तस्करीसम्बन्धी अनुसन्धानमा देखिएको त्रुटी समेतलाई औल्याउँदै आयोगले १२ जनालाई कारबाही सिफारिस गरेको छ ।

पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा असोजमा गठन भएको आयोगले पाँच महिनापछि बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको थियो । आयोगले छानबिनबाट सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १२ जना दोषी देखिएको उल्लेख गर्दै उनीहरूलाई कारबाही सिफारिस गरेको छ ।

आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार महरासहित ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसी, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी र जीवन चलाउने र होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको हो ।

यस्तै सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेलाई पनि प्रतिवेदनले दोषी ठहर गर्दै विभागीय कारबाहीका लागि सिफारिस गरेको छ । यस्तै सीआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा, डिएसपी रूगम कुँवर र दुर्गा दाहाललाई सुन तस्करी प्रकरणमा दोषी ठहर गर्दै उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ ।

ब्यूरोमा उपस्थित गराएर समेत कागज मात्र गराएर छाडेको उनीहरुमाथि आरोप छ । ६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सीआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ । सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ । बज्राचार्यलाई विभागीय कारवाहीका लागि निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले पनि जानकारी दियो ।

गृहमन्त्री लामिछानेले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष उक्त प्रतिवेदन बुझाएका थिए । प्रधानमन्त्री प्रचण्डले आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही गर्न अगाडि बढ्न निर्देशन दिएपछि गृहमन्त्री लामिछानेले आज बिहान नै दोषी देखिएका प्रहरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरीक्षक बसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनपछि एआइजी बज्राचार्य लगायतका प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री प्रचण्डले आयोगले सिफारिस गरेको विषयहरूमा निर्णय गर्नेबारे छलफल गर्न आज अपराह्न ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।