Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

हाडे ओखरको बिरुवा दाँते भएपछि...

कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ ।

हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाएका छन् ।

दाँते भनी लगाएका ओखर हाडे निस्किएको जनाउँदै किसानले गुनासो गर्न थालेपछि केन्द्रले ‘टप ओर्किङ’ गर्न सुरुआत गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए।

उनले परीक्षण स्वरुप ५० टप ओर्किङ गरिएको निमित्त प्रमुख अवस्थीले बताए । सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीमा कार्यरत प्राविधिक हरिस पाण्डेको सहयोगमा ओखरमा टप ओर्किङ गरिएको हो । दिपायल सिलगढी नगरपालिका सहित आदर्श र सायल गाउँपालिकामा टप ओर्किङ कार्य गरिएको ज्ञान केन्द्रले जनाएको छ । सो कार्य सफल भएमा ज्ञान केन्द्रले आफ्नो वार्षिक कार्यक्रममा समेटी जिल्लामा यो कार्य विस्तार गरिने कार्यालय प्रमुख अवस्थीले बताए ।