Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

बाँकेमा डेढ करोडसहित आठ जना पक्राउ

बाँकेमा प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत फागुन २७ र २८ गते गरी स्रोत नखुलेको एक करोड ५६ लाख २८ हजार ३ सय रुपैयाँ बरामद गरेको हो ।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर, नेपालगञ्ज उपमहानगरपालिका–२, पुष्पलाल र नेपालगञ्ज उपमहानगरपालिका–१ सानिमा बैंकनजिकबाट बरामद उक्त रकमसहित सो रकम कारोबारमा संलग्न आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकम कारोबार गरिरहेको भन्ने विशेष सूचना पाएपछि खटिएको प्रहरी टोलीले स्रोत नखुलेको उल्लिखित रकमसहित दाङको तुलसीपुर उपमहानगरपालिका–९ ठेगाना भई नेपालगञ्ज उपमहानगरपालिका–४, बस्ने वर्ष ४३ का कृष्णबहादुर विक, नेपालगञ्ज उपमहानगरपालिका–१६ का ३५ वर्षीय रोहित क्षेत्री, भारतको बहराइच बस्ने वर्ष ४१ का राहुल जैसवाल, नेपालगञ्ज उपमहानगरपालिका–१६ बस्ने वर्ष ५० का सलिम जोलाह, सलिमकै छोरा वर्ष २८ का आसिप जोलाह, बर्दियाको राजापुर नगरपालिका–१ बस्ने वर्ष २० का अनुप थारु, बर्दियाको बारबर्दिया नगरपालिका–२ बस्ने वर्ष २५ की पूर्णिमा चौधरी, नेपालगन्ज उपमहानगरपालिका १६ का वर्ष ३६ का हसिब अहमद जसगढलाई पक्राउ गरेको हो ।

बरामद रकममा नेपाली नोटसहित र भारतीय नोट पनि छन् । रकमसहित आठै जनालाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।