Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रन्जितालाई रेशमको पत्रः मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय

सत्ता गठबन्धन फेरिएसँगै पारिवारिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आज बुधबार बिहान लामो फेसबुक स्ट्याटस लेखेर पार्टीको पछिल्लो परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । चौधरीले आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको प्रस्टाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टीको अवस्थाबारे व्याख्या गर्दै आफ्नो र रन्जिताको अडानलाई पनि प्रस्ट पारेका छन् । ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् ’ उनले लेखेका छन्, ‘सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ ।’

जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशम लेख्छन्, ‘सन्दर्भः घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । आज पनि हेर्नुस् , एमाले,माओवादी, कांग्रेस । यी ठूला दलका नेता–कार्यकर्ता सांसद कतै चलमलाएका छन् र तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुईचालो गएको छ?’ उनले यी उदाहरणहरूलाई देखाउँदै कुनैपनि गठबन्धनका पछाडि नलाग्न आग्रह गरेका छन् । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट नभई भौगोलिक सांस्कृतिक पहिचानसहितको सङ्घीयताका लागि समुदायमा आधारित समाजवाद प्रतिउत्पादनका लागि जन्मेको पार्टी रहेको बताएका छन् ।

मैले तिमिलाई सम्झाउन सकिनँ प्रियः रेशम चौधरी
यतिबेला नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । तर पार्टीका संरक्षक समेत रहेका रञ्जिताका श्रीमान भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन् ।

‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्ने–स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ ।’

रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने संकेत पनि गरेका छन् । ‘याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ,’ उनले भनेका छन्, ‘सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ । अहिले भन्न सक्दिनँ अहिले केन्द्रीय समितिले स्वतन्त्र भइ निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भइ गर्नुपर्छ ।’

रेशमलालले दोहो¥याएर भनेका छन्, ‘कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडि नलागौं । नागरिक उन्मुक्ति पार्टी कांग्रेस(कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं । आफ्नो नीति सिद्धान्त अनुरुप चलौं ।’

उनले रञ्जिता र आफूबीच उत्पन्न विवादबारे पनि खोलेका छन् । ‘कुरो रहृयो बुढाबुढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ रेशमललाले लेखेका छन्, ‘प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नु हुन्न भन्छिन् । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएकै थिए । हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो, तर हामी रिहा भएनौं नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं र तिमी पनि मन्त्री भएकी हौ ।’ एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो भन्ने उनको भनाइ छ ।

निर्वाचन आयोगले आफूलाई मान्यता नदिएको बारेप नि उनको आक्रोश छ । ‘जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन,’ रेशमललाले भनेका छन्, ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ । सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो, तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला ।’

आफ्ना कारण लाखौं जनताको मन दुखेको आफूलाई अनुभूत भएको उनको भनाइ छ । ‘त्यसकारण म क्षमा चाहन्छु । तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन,’ उनले लेखेका छन्, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’