Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुनको सिक्री नदिएको भन्दै बेहुला मण्डपबाटै उठेपछि...

वीरगञ्जमा विवाह गर्न गएका बेहुलाले दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह गर्नै अस्वीकार गरेका छन् ।

मण्डपमा बेहुला र बेहुलीको बरमाला गर्ने क्रममा बेहुलाले सुनको सिक्रीको माग राखेका थिए । बेहुली पक्षले सिक्री दिन नसकेपछि विवाह नगर्ने भन्दै बेहुला मण्डपबाट उठेका थिए ।

बाराको कलैया उपमहानगरपालिका–४ घर भएका उमेश साह गोढको छोरा बच्चालाल साह गोढले सोमबार करिब १० बजे जन्ती लिएर वीरगञ्जको रामगढवा पुगेका थिए । तर, सिक्री नपाएको भन्दै बेहुला मण्डपबाटै उठेपछि दुई पक्षबीच विवाद बढेको थियो । विवाद बढेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित बेहुलीको घरबाट बेहुला, उनका दाइ र भिनाजुलाई नियन्त्रणमा लिएको छ । बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी हुन् ।