Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

माधव नेपालका माग आंशिक पुरा, सत्ता गठबन्धनको संयुक्त वक्तव्य आउँदै

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले यसअघि चार दलबीच भएको आठ बुँदे सहमतिमा हस्ताक्षर गरेको छ । गत फागुन २१ गते बनेको सत्ता गठबन्धनले आज मंगलबार साँझसम्म संयुक्त वक्तव्य निकाल्ने भएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका माग सम्बोधन गर्ने सहमति बनेको थियो ।

त्यसपछि संघीय संसद्मा १० जना सांसद रहेको एकीकृत समाजवादीले मंगलबार भइरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाललाई सघाउन तयार भएको हो । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार लिन लागेको विश्वासको मतको पक्षमा पनि उभिन एकीकृत समाजवादी तयार भएको छ । समाजवादीबाट यसअघि नै धनबहादुर बुढा र भानुभक्त जोशी नयाँ सत्ता गठबन्धन सरकारमा मन्त्री बनिसकेका छन् ।

आज मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि नेकपा एसले ८ बुँदे सहमतिमा हस्ताक्षर गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । नेकपा एससँगै आठ बुँदे सहमतिमा हस्ताक्षर गर्ने दलको संख्या पाँच पुगेको छ ।

सहमतिमा हस्ताक्षर गरेपछि नेकपा एसले राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाललाई मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । यस्तै, नेकपा एसले बुधबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पनि दिने भएको छ । २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले, माओवादी, रास्वपा र जसपाबीचको नयाँ गठबन्धन बनाएका थिए । सोही दिन चार दलबीच आठ बुँदे सहमति भएको थियो ।

दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा सरकारमा सहभागी भएको नेकपा एसले भने त्यसमा हस्ताक्षर गर्न पाएको थिएन । नेकपा एसले केन्द्रमा एक वर्ष प्रधानमन्त्री र प्रदेश सरकारको नेतृत्वमा पनि दाबी गरेको छ । केही प्रदेशमा निर्णायक रहेको नेकपा एसले कम्तीमा एक प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । तर, यी विषयमा भने थप छलफल फेरि हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।