कर्णाली चिसापानीस्थित पुलमा ट्रकमा आगलागी भएपछि राजमार्ग अवरुद्ध भएको छ।
सोमबार दिउँसो लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको थियो। कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो।
वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा सोमबार अपराह्न आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लठ्ठामा क्षति पुगेको इलाका प्रहरी कार्यालय चिसापानी जनाएको छ।
आगलागीका कारण सवारीसाधनहरु सडकमै रोकिएका छन्। प्रहरीका अनुसार अहिले पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरिगाउँको वैकल्पिक मार्गमा पठाइएको छ।
पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली आज (मंगलबार) घटनास्थल जाँदै छ ।