Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सैनिक प्रदर्शनीः हाकादेखि लडाइँका साधन अवलोकनको अवसर

नेपाली सेनाको सुदूरपश्चिम पृतनाको सैनिक टोलीले २६१औँ सेना दिवसका अवसरमा कैलालीको धनगढीमा आयोजित विविध सैनिक प्रदर्शनीका क्रममा ‘हाका प्रदर्शन’ गर्दा सहभागी सबैको ध्यान तान्यो । सुदूरपश्चिममा पहिलो पटक सेनाले प्रदर्शन गरेको ‘हाका’ (रण हुँकार) मा राष्ट्र, राष्ट्रियता, देश र सेनाको बखान त छँदै थियो नै त्यसमाथि युद्धका क्रममा जाँगर दिने उक्त प्रस्तुतीले सबैको मन जित्यो ।

हाका एउटा युद्ध गीत हो, जसलाई नेपाली सेनाको पृतनाको सैनिक टोलीले पूर्ण शक्ति र भावनाका साथ प्रस्तुत गरेको थियो । हाका सामान्य नृत्य भने होइन । यो प्राचीन युद्ध नृत्यको एउटा प्रकार हो । पछिल्लो समय सैनिक कौशलता देखाउने क्रममा नेपाली सेनाले पनि हाका प्रर्दशन गर्दै आएको छ । हाकामा खुट्टा ठप्प पार्ने, जिब्रो बाहिर निकाल्ने र लयमा शरीरलाई ट्याप गरी ठूलो स्वरमा चिच्याउने गरिन्छ ।

हाका नृत्यले युद्धमा जाने योद्धालाई प्रोत्साहन गर्ने काम पनि गर्दथ्यो । यो शारीरिक क्षमताको प्रदर्शन पनि हो । पछिल्लो समय नेपाली सेनाले उपत्यका बाहिर पनि सैनिक प्रदर्शनीलाई निरन्तरता दिँदै आएको छ । सैनिक प्रदर्शनीको उद्घाटन समारोहमा सेनाले हाकासँगै सुदूरपश्चिमसँगै मुलुककै कला, संस्कृति झल्किने झाँकी तथा नृत्य समेत प्रस्तुत गरेको थियो । 

धनगढीस्थित रङ्गशालामा सुरु भएको सैनिक प्रदर्शनी सोमबारसम्म चल्ने सुदूरपश्चिम पृतनाले जनाएको छ । सैनिक प्रदर्शनीको उद्घाटन समारोहमा सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिलामन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललगायत सहभागी थिए ।

सैनिक प्रदर्शनीमा युद्धमा प्रयोग हुने आधुनिक साधनदेखि सामग्रीसम्म, हिमालदेखि तराईमा विपत व्यवस्थापनमा प्रयोग हुने सामग्री, सैन्य भर्ना तथा आन्तरिक व्यवस्थापनलगायत विषयमा जानकारी दिन कक्ष राखिएका छन् । यसैगरी ‘युनिटी रन’अन्तर्गत विभिन्न विधाका दौड प्रतियोगिता सोमबार सञ्चालन गरिने सेनाले जनाएको छ । सेनाले विद्यार्थीका लागि पाँच किलोमिटर दौड विधागत रुपमा राखेको छ । विजयी धावकलाई नगदसहित पुरस्कृत गरिनेछ ।

त्यसैगरी खुल्ला महिला र पुरुषतर्फ पनि दश किलोमिटर दौड आयोजन गरिनेछ । उक्त दौडमा पहिलो हुनेलाई माउन्टेन बाइकसहित रु १५ हजार पुरस्कार प्रदान गरिने सेनाले जनाएको छ । सो प्रतियोगितामा दोस्रो हुनेलाई रु १० हजार तथा तेस्रो हुनेलाई रु सात हजार पुरस्कार प्रदान गरिने छ । सैनिक प्रदर्शनी अवलोकन गर्न कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट सर्वसाधारण, विद्यार्थीलगायत आएका थिए ।