Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

टिकट लिन अस्पतालमा लाइन बसेका बिरामी युवकको मृत्यु

चितवनको ‘बकुलहर रत्ननगर अस्पताल’ मा आज आइतबार बहिरङ्ग सेवाको टिकट लिन लाइन बसेका एक बिरामीको युवकको पालो कुर्दाकुर्दै मृत्यु भएको छ ।

आइतबार बिहान मुटु जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका– ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको हो । टिकट पाउन धेरै बेर कुर्नुपर्ने भएकाले आज बिहान १० बजे नै अस्पताल पुगेर लाइन बसेको आधा घण्टापछि उनी अचानक बेहोस भएर ढलेका थिए ।

तुरुन्त उठाएर उनलाई अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा मृत्यु भइसकेको अस्पताल प्रशासनले बताएको छ । अस्पतालका डाक्टरहरुले थापामगरको हृदयाघात भएर मृत्यु भएको अनुमान गरेका छन् । शनिबार रातिदेखि मुटु दुखेपछि उनी मोटरसाइकलमा एक्लै अस्पताल गएको पारिवारिक स्रोतलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।