राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रोपटक उपप्रधान एवं गृहमन्त्री बनेका छन् । रविले बुधवार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच उपप्रधान एवं गृहमन्त्रीका रूपमा शपथ लिएका हुन् ।
२०७९ पुस ११ गते लामिछाने पहिलोपटक गृहमन्त्री बनेका थिए । माघ १३ गते सर्वोच्च अदालतले उनको नागरिकता अवैध ठहर गरेपछि सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद पनि गएको थियो । मन्त्रीको रूपमा रविको पहिलो कार्यकाल ३२ दिनमै टुंगिएको थियो ।
२०८० वैशाख १० मा उपनिर्वाचनबाट रवि पुनः प्रतिनिधि सभामा निर्वाचित भएका थिए । संसद्मा आएपछि उनले सरकारमा जान कसरत गरेका थिए । आफूले चाहेको गृह मन्त्रालय नपाएपछि उनी सरकारमा गएका थिएनन् । ४ सय ४ दिनपछि रवि पुनः गृह मन्त्रालयमा फर्केका छन् ।
ग्यालेक्सी टीभीमा रहँदाका साझेदार जीबी राई सहकारी ठगीमा मुछिएपछि रविको नाम समेत जोडिएको थियो । सहकारी ठगीमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।

यस्ता छन् नव नियुक्तमन्त्री
एमाले
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री
३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री
५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
७. हरि उप्रेती, रक्षा मन्त्री
८. ज्वालाकुमारी साह, कृषि मन्त्री
नेकपा (माओवादी केन्द्र)
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२. वर्षमान पुन, अर्थ मन्त्री
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी
१. रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री
२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री
४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
नेकपा एकीकृत समाजवादी
१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
२. धनबहादुर बुढा, सहरी विकास मन्त्री