Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सुदूरपश्चिममा माओवादीले फिर्ता लियो समर्थन, सरकार बुहमतमै

नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारलाई समर्थन गरेर गत जेठ ६ गते माओवादी सरकारमा सहभागी भएको थियो । सरकारले सुशासन, विकास र जनतामा आशा सिर्जना गर्न नसकेको आरोप माओवादीको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहीले माओवादीका तीन जना मन्त्रीलाई मंगलबार पदबाट बर्खास्त गरेका थिए । देशको राजनीतिमा आएको परिवर्तन र सरकारले माओवादीका मन्त्रीहरूलाई पदमुक्त गरिसकेकोले आजैका मितिदेखि कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएको माओवादीले विज्ञप्ति निकालेर जानकारी गराएको छ । माओवादीले समर्थन फिर्ता लिए पनि शाही नेतृत्वको सरकार बहुमतमै छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ जना सांसदको साथ चाहिन्छ । एमालेका १० र माओवादी केन्द्रका ११ गरी यहाँ नयाँ गठबन्धनका २१ जना सांसद छन्। बहुमत पुर्‍याउन अझै ६ सांसद आवश्यक पर्छ । यसका लागि नयाँ गठबन्धनले थप दलहरूको साथ लिनुपर्ने हुन्छ । कांग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद पनि छन् । कांग्रेस नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको समर्थन भने कायमै छ ।
हेर्नुस् पत्र

s.webp