Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् प्रतितोला कतिमा हुँदैछ कारोवार?

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार नौ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २२ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ४० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउने भएपछि यसको असर सुनको मूल्यमा परेको विश्व बजारमा मूल्यवृद्धि हुनु, रोजगारी घट्नु र अमेरिकी डलर कमजोर हुन थालेपछि सुनको भाउले नयाँ उचाइ कायम गरेको महासंघका पूर्वअध्यक्ष  तेजरत्न शाक्यले बताए । बुधबार र बिहीबार अमेरिकाको केन्द्रीय बैंकले ब्याजदरको विषयमा निर्णय लिने भएको छ। शुक्रबार अमेरिकाको श्रम विभागको प्रतिवेदन आएपछि फेडरल रिजर्भले ब्याजदर घटाउने वा स्थिर राख्ने निर्णय गर्ने भएकाले त्यसपछि मात्र सुनको मूल्य तय हुने उनको भनाई छ।