नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान प्रस्ताव गरेका छन् । आज ९बुधबार० बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिए, अब हामी सँगै मिलेर अगाडि जाउँ’ भनेर प्रस्ताव राखेको स्रोतले जानकारी दिएको छ ।
देउवाको प्रस्तावमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जवाफ दिएको जनाइएको छ । माधव नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसबारे आजको बैठकमा कुरा राखेर छलफल गर्छौं । के हुन्छ अनि मात्रै भन्न सकिन्छ ।’
मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । नेकपा ९एकीकृत समाजवादी० ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने रनहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक बेइमानी र अस्थिरताको बिजारोपण गरेको निष्कर्षसहित नेपाली कांग्रेस वैकल्पिक गठबन्धन बनाउने पहलमा उत्रिएको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि नेताहरू यसमा सक्रिय भएका हुन् ।
रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसम्मको अफर गरेको चर्चाबीच माधव नेपाललाई समेत प्रचण्डको साथमा जान नदिन सभापति शेरवहादुर देउवा आफैं सक्रिय बनेका छन् । नेपालमाथि प्रचण्डले धोका मात्र दिएको र निर्णायक बेलामा कुनै जानकारी नदिएको भन्दै पार्टीभित्र पनि उनी दबाबमा छन् ।
सै पहल स्वरुप श्रीमती आरजु र नेता रमेश लेखकसहित देउवा कोटेश्वर पुगेका हुन् । देउवा आफू गठबन्धन जोगाउन हदैसम्म लचिलो बन्दा पनि प्रचण्डले विना कारण धोका दिएकोमा बताइरहेका छन् । नेपाली कांग्रेसले रास्वपा वा जसपालाई प्रचण्डको साथबाट छुटाउन सक्दा वैकल्पिक गठबन्धन बन्ने आँकलन गरिएको छ । त्यसैले कांग्रेसले तत्कालै प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिएको हो ।
यदि माधव नेपाललाई प्रचण्डतिर जानबाट रोक्न सकिएमा कांग्रेसको ८७, राप्रपाको १४, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सीट जोड्दा १२५ सीट हुन्छ । चित्रबहादुर केसीले पनि प्रचण्डको पछिल्लो कदमको विरोध गरेकाले उनी कांग्रेससँगै रहनेछन् । त्यसो गर्दा १२६ सीट हुन्छ ।
प्रतिनिधिसभामा तत्काल कायम रहेको संख्याको बहुमत सदस्य भन्नाले अहिलेको अवस्थामा १३७ सीट आवश्यक पर्छ । एमालेका टोपबहादुर रायमाझी र कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित छन् । त्यस्तै सुवास नेम्वाङको निधन भएका कारण एक सीट रिक्त छ ।