इन्डियन आयल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा बढाएर पठाएको छ।
त्यस्तै खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढाएर पठाएको हो।भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य यथावत रहने निगमले जनाएको छ। हाल निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर छ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा छ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोलको भाउ १७१ रूपैयाँ र डिजेल तथा मट्टीतेल १५९ रूपैयाँ छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर छ। त्यस्तै डिजेल र मट्टीतेलको १६० रूपैयाँ छ।
