Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छः प्रधानमन्त्री (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताएका छन् । काठमाडौँमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ को आज समापन गर्दै उनले नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान गरेको धारणा राखेको प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्वपूर्ण छ’, प्रधानमन्त्री दाहालले भने, ‘कलाकारिताका माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नु भएको छ ।’

prachanda-4-1.webp

नेपाल प्राकृतिकरूपमा सुन्दर र मौलिक नेपाली प्रकृति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ । यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रुपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।’ 

उनले कलाकारबाट देशको पहिचान र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुगेको पनि बताए । प्रधानमन्त्री दाहालले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पारेको कलाले नेपालको भूगोल र संस्कृति एवं परम्परा चित्रमार्फत देखाइएको आफूले पाएको बताए ।

prachanda-6-1-scaled.webp

काठमाडौँको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्र समावेश गरिएको आयोजकले जनाएका छन् ।