Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

संसदमा रवि लामिछानेले भने– ‘भ्रष्टाचारको फाइल खोल्न रास्वपाबाट सुरु गरौँ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले विभिन्न काण्डमा फाइल खोलेर आफ्ना मान्छेहरुलाई बचाउने खेलमा लागेको आरोप लगाएको छ । आज बसेको प्रतिनिधि सभाको आकस्मिक बैठकमा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भ्रष्टारचार लगायतका अन्य काण्डका फाइल खोल्दा सरकारले आफ्नालाई बचाउन अरुलाई फसाउन मात्र रहेको आरोप लगाएका छन् ।

त्यस्तै उनले भ्रष्टाचार लगायतका सम्पूर्ण फाइल रास्वपाबाट खोल्न समेत आग्रह गरेका छन् । अन्य दलको फाइल खोल्दा सरकारले आफ्ना मान्छेहरुलाई जोगाएको आरोप लगाए । ‘भष्टाचार लगायतका सम्पूर्ण फाइल रास्वपाबाट सुरु गरोस् । अन्य दलको नखोलोस् । कसैको पनि फाइल नखोलोस्, फाइल खोल्ने के रहेछ भन्ने कुरा ललिता निवासमा देख्यौँ, फाइल खोल्नु केका लागि रहेछ सुन काण्डमा देख्यौँ ।फाइल के का लागि रहेछ भन्ने कुरा भुटानी शरणार्थी प्रकरणमा देख्यौँ ।’ उनले भने ।

त्यस्तै गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको दोष देखिए पनि उनलाई अझै कारबाही नगरिएको भन्दै प्रश्न गरेका छन् । ‘छताछुल्ला प्रमाण भएका मान्छेहरुलाई वरपर लिएर हिँडिरहने हो भने विधिको शासनका बारेमा अब नबोलेपनि हुन्छ ।’ उनले भने ।

इपीएस परीक्षाका विषयमा आन्दोलनमा रहेकाहरुमाथि प्रहरीले गोली चलाउँदा बालकुमारीमा विरेन्द्र शाह र सुजन राउतको हत्या भएको थियो । छानबिन समितिले प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । तर सुरकारले कुनै पनि कारबाही नगरेको भन्दै सांसदहरुले आक्रोश जनाइरहेका छन् ।