Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पूर्वी रुकुमबाट दयाहाङ र मिरुनाको ‘घर ज्वाईं’ सुरु

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिका रहने फिल्म ‘घर ज्वाईं’ को पूर्वी रुकुमबाट सुटिङ सुरु भएको छ ।निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लगुममा क्यामरा पूजा गरि सुटिङ थालिएको हो ।

अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु), सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायतले अभिनय गर्नेछन् ।

जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगरकै हो । उनलाई पटकथा र सम्वाद लेखनमा सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् । सुसन प्रजापतिको छायाङ्कन, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको वितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले  लिइसकेका छन् । आगामी २०८१ असार २८ गते प्रदर्शन हुने फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने निर्देशक बुढामगरले बताए ।