Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नयाँ वर्षलाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकले ल्यायो ३ आकर्षक कर्जा योजना

महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ । सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने जनाएको छ ।

यी तिनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गरिने जनाएको छ । साथै आवश्यक सम्पुर्ण कागजात प्राप्त भएको ३ कार्य दिन भित्र नै कर्जा प्रवाह गरिनेछ । उक्त योजना अनुसार आवासीय र व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप र पुर्ननिर्माण र मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गरिनेछ । साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधी सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ ।

त्यसैगरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिने समेत बैंकको भनाई छ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधी २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिने जनाएको छ ।

नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।