Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध सरकारी कागजात कीर्ते गरेको भन्दै उजुरी

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध पुनः अर्को जाहेरी दर्खास्त दर्ता भएको छ । कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं ३ निवासी नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलीले मेयर सिंहले बुबा भनेर नागरिकता दिलाएको रुबिना भट्टराई श्रेष्ठकी आमा रिता भट्टराईले मेयर सिंहको बचाउमा अदालतमा पेश गरेको कागजात समेत फर्जी रहेको दाबीसहित जाहेरी दर्ता गरेका हुन् ।

रिता भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका तत्कालीन पञ्जिकाधिकारी भिखारी रायले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरी कीर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको एक भिडियो सार्वजनिक गरी बताएका छन्। १२,८२७ दर्ता नं रहेको उक्त जाहेरी दरखास्त बुझ्दै प्रहरीले आवश्यक अनुसन्धान गरी वास्तविकता बुझि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता तथा आश्वासन व्यक्त गरेको छ ।