Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पार्टीमा आफ्नो नाम जोडेको भन्दै आमाबुबाविरुद्ध मुद्दा हालेका विजय राजनीतिमा

राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको भन्दै कुनै बेला आफ्नै आमाबुबाविरुद्ध मुद्दा हालेका दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजय अन्नतः सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । भारतीय लोक सभाको निर्वाचन नजिकिँदै गर्दा विजयले आफ्नो पार्टीको नाम घोषणा पनि गरेका हुन् । उनले पार्टीको नाम तमिलागा वेत्री कझगम राखेका छन् ।


शुक्रबार एक विज्ञप्ती जारी गर्दै सन् २०२४ को लोकसभा चुनावमा आफू नलड्ने घोषणा गरेका छन् । उनले चुनावमा कुनै पार्टीलाई समर्थन पनि नगर्ने उल्लेख गरेका छन् । ‘हामीले यो निर्णय सामान्य र कार्यकारी परिषदको बैठकबाट लिएका हौं’, उनले भनेका छन् । ‘हामी आफ्नो पार्टी तमिलागा वेत्री कझगमलाई रजिष्टर गर्नका लागि आज चुनाव आयोगमा निवेदन दिँदैछौं । हाम्रो लक्ष्य आगामी २०२६ को विधानसभा चुनाव लड्नु र जित्नु हो । साथै मौलिक राजनीतिक परिवर्तन ल्याउनु हो, जुन मानिस चाहन्छन्’, विज्ञप्तीमा भनिएको छ ।

दक्षिण भारतमा विजयको अलग्गै पहिचान छ । रजनीकान्तपछि विजयलाई त्यहाँका जनताले सर्वाधिक मनपराउँछन् । विजयले आफ्नो फिल्मको घोषणा गर्नासाथ फ्यान उनको फिल्मप्रति चासो राख्छन् । केही समयअघि मात्र उनले ‘गट’को घोषणा गरेका थिए । यो फिल्ममा प्रभुदेवा, प्रशान्त र अजमलको अभिनय हुनेछ ।