Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्रीले दरबार हत्याकाण्डबारे विचार नपुर्‍याई बोलेः माधव नेपाल

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार नपुर्‍याएको टिप्पणी गरेका छन् ।

आज बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सो विषयमा बोल्दा कम्तीमा आफूसँग प्रधानमन्त्रीले सल्लाह गरेर बोलेको भए राम्रो हुने आशय व्यक्त गरे । अध्यक्ष नेपालले भने, ‘गिरिजा बाबु त मसँग बिना सल्लाह नगरी यस विषयमा बोल्नु हुन्थेन उहाँ कसरी अचानक बोल्नु भयो खै?’ एमाले अध्यक्ष केपी ओलीले समेत दिपेन्द्र हत्यारा होइन भनेर बोल्नुभयो नि? भन्ने प्रश्नमा उनले ओलीजी पछि गृहमन्त्री र प्रधानमन्त्री समेत हुनुभएकाले सूचना पाएर नै हत्यारा को भन्ने संकेत गर्नु भएको हुनुपर्छ भनेर टिप्पणी गरे ।

ओलीले वंश बाँकी रहेकाहरुतर्फ संकेत गरेको अध्यक्ष नेपालले स्पष्ट पारेका छन् । राजतन्त्र अब मसानघाटको मुर्दा भइसकेकाको भन्दै अध्यक्ष नेपालले कसैले फर्काउन नसक्ने र फर्काउन पनि नदिइने चेतावनी दिए । नेपालले वर्तमान संघीय सरकारको एक वर्षको कामहरुको समीक्षा हुनुपर्ने कुरा गलत नभएको पनि बताए । पूर्व प्रधानमन्त्री नेपालले सरकारको कामको समीक्षा हुनुपर्ने यद्यपि गठबन्धन पाँचै वर्ष चल्ने र कसैले बिगार्न नसक्ने ठोकुवा समेत गरे । प्रधानमन्त्री प्रचण्डले कतिपय धेरै राम्रा कामहरु गरिरहेको समेत उनले दाबी गरे । प्रधानमन्त्री दाहालले केही दिन अघि २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे सरकारले पुनः सत्यतथ्य छानविन गर्ने बताएका थिए ।