Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

केपी ओली समकालीन राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता हुनुहुन्छ: विद्या भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समकालीन नेतामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सर्वाधिक प्रतिभाशाली भएको टिप्पणी गरेकी छिन् । राजनीतिका साथै कला, साहित्य, विज्ञान तथा धर्म र दर्शनमा गहन ज्ञान भएका ओली प्रेरणाको स्रोत भएको उनले बताएकी छन् ।

ओलीका सम्बोधन समेटेर प्रकाशित भएको पुस्तक ‘संसदमा केपी शर्मा ओली’ को मंगलवार काठमाडौंमा विमोचन गर्दै भण्डारीले समकालीन नेतामा ओली पृथक पहिचान भएको नेता भएको बताएकी हुन् ।

‘केपी शर्मा ओली ज्यू समकालीन नेतामा पृथक पहिचान बनाउनु भएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल एमालेको अध्यक्ष र प्रधामनन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ,’ भण्डारीले भनिन्, ‘राजनीतिका साथै कला साहित्य, धर्म गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र लामो संघर्षले खारिनु भएका नेता हामी सबैका प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’

kp-1-1-scaled.png


पुस्तक र ओलीबारे यस्तो छ पूर्वराष्ट्रपति भण्डारीको भनाइ
यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यु समकालीन राजनीतिक नेताहरुमा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ । यसर्थ, श्री केपी शर्मा ओलीले संसदमा गर्नुभएका भाषणहरु पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण छन् । र ती संकलनीय र संग्रहणीय पनि रहेका छन् । त्यसैले पनि यस पुस्तकको विशेष महत्व रहेको छ । निरंकुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने शिलशिलामा उहाँले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनु भएको छ ।

२०४६ सालमा प्रजातन्त्र पुनस्स्थापना भएपछि भने उहाँ नेकपा एमालेको तर्फबाट २०४८, २०५१ साल र २०५६ सालमा संसद सदस्य तथा २०७४ सालमा २०७९ मा समेत संसदमा निर्वाचित हुनुभएको छ । यसक्रममा उहाँ २०५१ सालमा गृहमन्त्री, २०६४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, २०७२ मा पहिलो पटक र २०७४ मा दोस्रो पटक र २०७८ मा तेस्रो पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँले यिनै जिम्मेवारीमा रहँदा कहिले विपक्षी नेताको रुपमा, कहिले मन्त्री वा प्रधानमन्त्रीको रुपमा प्रतिनिनिधिसभा व्यवस्थापिका संसद र संविधानसभामा सम्बोधन गर्नुभएका विचारहरु यस पुस्तकमा समेटिएका छन । श्री केपी शर्मा ओलीज्युले संसदमा बोल्नुभएका कुराहरु कथ्यको रुपमा संसद सचिवालयमा मात्रे थन्किरहेको अवस्थामा त्यसलाई अभिलेखीकरण गरी यस पुस्तकका माध्यामबाट आज सार्वजनिक गर्ने काम सम्पन्न भएको छ । अव यी मन्तव्यहरु आम पाठकका बीचमा आएका छन् । नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरुले गरेका सार्वजनिक अभिव्यक्तिहरुको दस्तावेजीकरणले ठूलो महत्व राख्दछ । अव यो संग्रह सबैको साझा सम्पति भएको छ ।

यस्ता अभिलेखहरु भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्न सक्दछ । साथै अनुसन्धानकर्ताहरु, इतिहासकारहरु तथा आम पाठकलाई कुनै निश्चित समय अवधिको परिवेश, चुनौतिहरु र जनताका आकांक्षाहरु बुझ्न यस्ता अभिलेखहरु उपयोगी हुन सक्दछन् । लोकतन्त्रमा नागरिकहरुलाई उनीहरुको जीवनमा असर गर्ने निर्णयहरु र आफूले चुनेर पठाएका प्रतिनिधिले गरेका कामहरुका बारेमा जानकारी प्राप्त गर्ने अधिकार हुन्छ । सार्वजनिक भाषणहरुको दस्तावेजीकरणले एकातर्फ राजनीतिक नेताहरुलाई आफूले जनताको सामु गरेका वाचाहरु, घोषणाहरु र गरेका कार्यहरुका लागि जवाफदेही बनाउन सहयोग गर्दछ भने अर्कोतर्फ आफ्नो विचार, दृष्टिकोण एवं पहलहरुलाई जनता समक्ष पुर्‍याउन सञ्चार पुलको कामसमेत गर्न सक्दछ भन्ने मलाई लाग्दछ । यस पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका उजागर गरेको छ ।