Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रधानमन्त्रीले नै सहिदको अवमूल्यन गरे - शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटै सहिदको अवमूल्यन गर्ने कार्य भएको आरोप लगाएका छन् ।

मंगलबारदेखि सुरु ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत विराटनगरमा आयोजित कार्यक्रममा उनले प्रजातन्त्रका निम्ति बलिदान दिएका सहिदको प्रधानमन्त्रीले अवमूल्यन गरेको बताएका हुन् । तीन हजार सहिद थप्ने प्रधानमन्त्रीको घोषणाले सच्चा सहिदको अवमूल्यन भएको उनको भनाइ छ ।

प्रजातन्त्रका निम्ति बलिदानी दिएका शहीदको अवमूल्यन प्रधानमन्त्री दाहालले गरेको बताएका नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार शहीद थप्ने कुरा गर्नुभयो। शहीद दिवसका दिन हामीले शहीदलाई अवमूल्यन गर्न भएन। त्यो कुरामा ध्यान दिन आवश्यक छ। शहीहिदको वास्तविक परिभाषालाई अंगीकार गरी अघि बढ्दा शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ भन्ने मलाई लाग्छ। शहीदको संख्या थप्दै गर्दा शहीद शब्दकै अपमान हुने बुझेको छु।’ 

प्रधानमन्त्री  प्रचण्डले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए।  नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको पनि बताए । समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।