संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको सात रोपना जग्गा हडपेर बनाइएका अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किराँतीले यस्तो निर्देशन दिएका हुन् ।
बैठकको अजेण्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचनाहरु सञ्चालनमा रहेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् । तत्काल कानुनी प्रक्रिया पु¥याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका आलिशान घर खाली गराउन मन्त्री किराँतीको निर्देशन अनुसार बोर्डले निर्णय गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका वडा नम्बर ८ गाँचापोखरीस्थित साविक कित्ता नं ९३, हालको कित्ता नं १०२, ३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरि ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर आलिसान घर बनाएर भोगचलन गर्दै आएका छन् ।
त्यस्तै वडा नं ३ भगवानस्थानमा साविक कित्ता नं ५१ बाट हालको कित्ता नं १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको पाइएको छ । त्यस्तै सिफलस्थित लामापोखरीमा रहेको कित्ता नं १३५, १८०, ८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएका छन् । बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्राविधिक मूल्याङ्कन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन् ।
तत्काल कानुनी प्रक्रिया पुर्याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने भएको छ । पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका ८ गाँचा पोखरीमा ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर घर बनाएर भोगचलन गर्दै आएका छन् ।
त्यस्तै वडा नं ३ भगवानस्थानमा ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएका छन् । सिफलस्थित लामा पोखरीमा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको कोषले जनाएको छ । यी जग्गामा रहेको संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्याङ्कन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ । प्राविधिक मूल्यांकन आएको दिन नै महानगरले संरचना भत्काउन सक्ने मेयर शाहले बताए ।