बारा । प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।
बाराको सिमरा विमानस्थलमा सोमबार दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले दरबार हत्याकाण्डको छानबिन आवश्यक रहेको जनाएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाविरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।
यसअघि, प्रधानमन्त्री दाहालले नेपालमा बन्द रहेका महत्त्वपूर्ण उद्योगहरु सञ्चालनमा ल्याउन सरकार तत्पर रहेको बताएका थिए । प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवसका क्रममा वीरगन्जमा आयोजित कार्यक्रममा उनले बन्द रहेका विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो उद्योगजस्ता उद्योगहरु सञ्चालनमा ल्याउन सरकारले निर्णय गरिसकेको बताए ।
फरक प्रसंगमा उनले गएको एक वर्षमा आफ्नो सरकारले मुलुक र नागरिकको पक्षमा थुप्रै महत्त्वपूर्ण काम गरेर मुलुकलाई नयाँ युगतर्फ लगेको दाबी गरे । उनले केही प्रतिक्रियावादीले सरकारको कामको आलोचना गर्ने र झुटा प्रचार गरी सरकारलाई बदनाम गर्न लागेको आरोपसमेत लगाएका छन् ।
प्रधानमन्त्री दाहालले बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजको भ्रमण तथा अवलोकनसमेत गरेका छन् ।