Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछापको लिखु तामाकोशी गाउँपालिका ४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षासम्मका एक सय ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रधानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए। विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्विटर र टोपी उपलब्ध गराइएको हो । 

‘विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन्, अहिले पोसाकमा एकरूपता आएको छ’, उनले भने । प्रधानाध्यापक महतले रु पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान नै थालेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एकरएक थान ऊनीको टोपी उपलब्ध गराएका थिए। 

सो असरमा प्रधानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उनीहरूको सामाजिक कार्यप्रति मुक्तकण्ठले प्रशंसा गरेका थिए ।