Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बालकुमारी गोलीकाण्डः पीडितलाई अन्याय हुननदिन सरकारलाई समितिको निर्देशन

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पुष १३ गते शुक्रबार इपिएस भाषा परीक्षाको बिषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका दुई युवाको परिवारलाई रोजगारी र थप क्षतीपूर्ती दिन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

साथै समितिले उक्त घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न पनि निर्देशन दिएको छ ।  समितिको निणर्य सुनाउँदै सभापति रामहरी खतिवडाले भने,‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने ।’ समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयलाई घटनाका सम्बन्धित साना कर्मचारीहरु मात्रै निलम्वन गर्ने र अरु उम्किने अवस्था सिर्जना हुननदिन समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिएको छ ।

सभापति रामहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकमा यस बिषयमा सांसदहरुले चिन्ता जनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए ।  यस प्रकारको घटना अब नहोस भनि सम्बन्धित सबै पक्ष सजक रहन नेपाल सरकार, प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिन सांसदहरुले माग गरेका थिए ।