Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

तोरी खेतीप्रति बढ्दैछ किसानको आकर्षण

मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल  छ । गत वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी लगाएकामा आठ हजार ५० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल वृद्धि गर्दै १६ हजार चार सय ७४ हेक्टर जमिनमा तोरी लगाइएको केन्द्रका प्रमुख रामदेव सिंहले बताए ।  जिल्लाको १७ पालिकामध्ये कानेपोखरी गाउँपालिकामा सबैभन्दा धेरै तोरी लगाउने गरेको उक्त केन्द्रले जनाएको छ । यस वर्ष कानेपोखरीमा तीन हजार छ सय हेक्टरमा जमिनमा तोरी लगाइएको  । 

त्यसैगरी बेलबारी नगरपालिकामा दुई हजार पाँच सय, पथरशनिश्चरे नगरपालिकामा दुई हजार पाँच सय, सुन्दरहरैचा नगरपालिकामा एक हजार आठ सय, रङ्गेली नगरपालिमा छ सय, रतुवामाई नगरपालिकामा चार सय, लेटाङ नगरपालिकामा तीन सय, उर्लाबारी नगरपालिकामा आठ सय ७७, सुनवर्सी नगरपालिकामा तीन सय, विराटनगर महानगरपालिकामा ४०, बूढीगङ्गा गाउँपालिकामा एक हजार पाँच सय, कटहरी गाउँपालिकामा चार सय ६६, धनपाल गाउँपालिकामा दुई सय ३३, जहदा गाउँपालिकामा आठ, मिक्लाजुङ गाउँपालिकामा दुई सय ५०, केराबारी गाउँपालिकामा एक हजार, ग्रामथान गाउँपालिकामा एक सय हेक्टर जमिनमा तोरी लगाइएको उक्त केन्द्रले जनाएको छ ।  

यस वर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढ्नसक्ने प्रमुख सिंहले बताए । ‘पर्याप्त सिँचाइ सुविधा हुने हो भने गत वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने थियो’, बेलबारी ९ का किसान नरबहादुर कटुवालले भने । नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रूपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।