प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जन्मदिनको शुभकामना दिएका छन् । मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको मेची महाकाली संकल्प यात्राको क्रममा मंगलबार साँझ खोटाङको दिक्तेल पुगेका ओलीले गए राति प्रचण्डलाई टेलिफोन गरेर जन्मदिनको शुभकामना दिएका हुन् ।
ओलीले प्रधानमन्त्री प्रचण्डलाई जन्म दिनको शुभकामना दिएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको हिजो (मंगलबार) जन्म दिन हो । २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड हिजोबाट ६९ वर्ष लागेका छन् ।
‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो । दिनभर व्यस्त थिएँ । साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो’, ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘उहाँको आज जन्मदिन, जन्मदिनको शुभकामना!’