Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

नवराज विकसहित ६ जनाको हत्या प्रकरणः आजबाट निरन्तर सुनुवाइ हुने

रुकुमको सोतीमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनाको सुनुवाइ आज आइतबारदेखि हुने भएको छ ।

रुकुम पश्चिम जिल्ला अदालतमा अन्तरजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या घटनाको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो । सुनुवाइ जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हुन लागेको हो ।

सुनुवाइको लागि आज पहिलो दिन सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । उक्त घटनामा मारिएका नवराज विकसहित ६ जना पीडितको परिवारका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रुकुम पश्चिम पुगेका छन् ।

०७७ साल जेठ १ जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर मारेका थिए । उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए । मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो ।