Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रणवीर कपूरको 'एनिमल'को अग्रिम टिकट बुकिङ आक्रमक

अभिनेता रणवीर कपूर र रश्मिका मन्दना अभिनीत फिल्म 'एनिमल' मंसिर १५ गतेदेखि प्रदर्शन हुँदैछ। भारतमा फिल्मको अग्रिम बुकिङ खुला गरिएको छ।

केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन्। दर्शकको उत्साह अग्रिम टिकट बुकिङमा पनि देखिएको छ।  भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको २ लाखबढी अग्रिम टिकट बुकिङ भइसकेको छ। यस फिल्मले रिलिजको चार दिनअघि नै अग्रिम टिकट बुकिङमा ७ करोड भारू कमाएको छ। योसँगै फिल्मले ४० करोडमाथि ओपनिङ गर्ने फिल्मकर्मीको अपेक्षा छ। 

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।  भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेको फिल्मको कथा निर्देशक सन्दिपले नै लेखेका हुन्। यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शन हुँदैछ।