पछिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्से परिसूचक सोमबार भने ११.२७ अंक घटेको छ । आज नेप्से परिसूचक १८९६.६७ विन्दुमा रोकिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । आइतबार दुई अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा आज एक अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको हो । पछिल्ला तीन कारोबार दिनमा नेप्से ८७ अंकभन्दा बढीले वृद्धि भएको थियो । तर, आज भने नेप्से घटेर बन्द भएको हो । आज अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ७.७२ प्रतिशत वृद्धि भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ७७ रुपैयाँ घटेर कारोबार भएको छ ।
सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको आज सात करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज २९० धितोपत्रको एक ६० लाख १७ हजार ३९७ कित्ता धितोपत्र खरिद–बिक्री भएको छ । कारोबारमा आएका चार समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा व्यापार, म्युचुअल फन्ड, लगानी र होटेल तथा पर्यटन समूह रहेका छन् ।