Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

'जवान'को रेकर्ड तोड्यो रणवीर कपूरको 'एनिमल'ले

अभिनेता रणवीर कपूर र रश्मिका मन्दना अभिनीत फिल्म 'एनिमल' मंसिर १५ गतेदेखि प्रदर्शन हुँदैछ। केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो।  ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन्। फिल्ममा रणवीर कपूर हिंस्रक अवतारमा प्रस्तुत भएका छन्। 

यस फिल्मले भारतमा मात्र नभई विश्वभर चर्चा बटुलिरहेको छ।  भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकामा यो फिल्म ८८८ स्क्रिनमा रिलिज हुँदैछ। रणवीरको पछिल्लो फिल्म 'ब्रह्मास्त्र' ८१० स्क्रिनमा प्रदर्शन भएको थियो। यस मामिलामा 'एनिमल' ले शाहरूख खानको फिल्म 'जवान' को पनि रेकर्ड तोडेको छ।  अमेरिकामा 'जवान' ८५० स्क्रिनमा प्रदर्शन भएको थियो। अमेरिकामा सर्वाधिक शोज पाउने 'एनिमल' पहिलो भारतीय फिल्म हो। सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्। 

भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेको फिल्मको कथा निर्देशक सन्दिपले नै लेखेका हुन्। यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शन हुँदैछ।